युवा संघका अध्यक्ष राजीव पहारीको
नेतृत्वमा गएको एमालेका युवाहरुको टोलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई
निवासमै भेटेर कम्युनिस्ट एकताको पहल लिइदिन आग्रह गरेको हो ।
ओली निकट युवाहरुको बाहुल्य रहेको युवा
संघको केन्द्रीय नेतृत्वले एकताको प्रस्ताव लिएर आएपछि प्रचण्ड पनि
उत्साहित देखिएका थिए । प्रचण्डले भने-हामी जानी नजानी एक ठाउँमा आइसकेका
छौं, अब नेपालमा कम्युनिस्टहरुको एउटै केन्द्र बनाउनुपर्छ, यो अभियानमा
तपाईहरु लाग्नुस् ।
अध्यक्ष प्रचण्डले नेपालको संविधान नै
समाजवाद उन्मुख भएकाले अब एमाले र एमाओवादी मिलेरै कम्युनिस्ट केन्द्र
बनाउन सम्भव हुने बताए । ‘यो सामन्तवाद र साम्राज्यवाद विरोधी समाजवाद
उन्मुख संविधान हो’ प्रचण्डले भने ‘हामी जानी नजानी कार्यगत एकताको तहमा
आएका छौं, यसैले कम्युनिस्ट विरोधीरुलाई या संविधान मन परेको छैन’ ।
प्रचण्डले एमाले र एमाओवादी जानी नजानी
कार्यगत एकताको चरणमा आइपुगेको बताए । यो एकताबाट आत्तिएकाहरुले नेपालमा
कम्युनिस्ट समाप्त पार्ने षडयन्त्र थालिसकेको उनले बताए ।
प्रचण्डले भने-दुई विशाल मुलुक भारत र चीन
वीचमा वामपन्थीहरु बलियो बनेको धेरैले रुचाएका छैनन् । हामी मिलेको
धेरैलाई मन परेको छैन । तर हामी मिल्नुपर्छ,अब नेपालमा एउटै कम्युनिस्ट
केन्द्र बनाउने हो ।
युवा संघका अध्यक्ष राजीव पहारीले केपी
ओली र प्रचण्डकै नेतृत्वमा नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्ने
बताएका थिए । ‘जस्तोसुकै बोल्ड निर्णय लिन सक्ने तपाई दुई नेता भएकै बेला
कम्युनिस्ट एकीकरण गर्नुस’ पहारीले भने ।
युवा संघले अब अन्य साना कम्युनिस्ट
पार्टीका नेताहरुलाई पनि भेटेर एउटै कम्युनिस्ट केन्द्र बनाउन दबाव दिन
लागेको महासचिव किरण पौडेलले जानकारी दिए । यसक्रममा युवा संगठनहरुबीच
सहकार्य गरेर अघि बढ्ने उनले बताए ।